Thursday, March 21, 2013

भारतबाट फर्कने कामदारलाई सीमामा पिरलो

-दीपक ओली

धनगढी, ९ चैत । गाउँघरमा रोजगारीको अवसर नपाएपछि सुदूरपश्चिमबाट भारत जाने पुरानै चलन हो । तर, भारतबाट मजदुरी गरेर फर्किंदा धेरै नेपाली सीमावर्ती नाकामा लुटिने गरेका छन् । उनीहरूलाई भारतीयले नै पिछा गर्दै लुट्ने गरेको पाइएको छ ।

घर फर्कने नेपालीलाई भारतीय लुटेराले चियामा लट्याउने पदार्थ हाली तथा बिस्कुट खुवाएर बेहोस् बनाई लुट्ने गरेको प्रहरी बताउँछ । एकान्तमा बस रोकी केहीलाई कुटपिट गरी लुटपाट गर्ने गरेको धनगढीस्थित सीमा प्रहरी चौकी त्रिनगरले जनाएको छ ।

खान–लाउन समस्या भई जीवन गुजाराका लागि भारत पुगेका धेरै नेपाली सीमामा लुटपाटको घटनाले पिरोलिन थालेका छन् । जोहो टार्न कमाएर ल्याएको रकम लुटिएपछि सपना तुहिएको बैंलोरबाट फर्किएका बझाङ हेमन्तबाडाका सेरे कामीले बताए । ‘गाउँबाट ऋण गरेर भारत गए’, कामीले भने, ‘फर्कंदा लुटिएपछि परिवारको बोझसँगै ऋण थपिँदा निकै पीडा भएको छ ।’

कामी मात्र होइनन् रोजगारीका लागि भारत जाने अधिकांशले कमाएको रकम सीमामा जोखिममा पर्ने गरेको छ । सुरक्षित रेमिट्यान्सबारे जानकारी नहुँदा उनीहरूले कमाएको रकम हराउने, चोरिने सम्भावना बढी छ ।

No comments:

Post a Comment