समाचार

एनेकपा माओवादीका अध्यक्ष प्रचण्डसहित
तीन दर्जन नेताको सम्पत्ति छानबिन


 काठमाडौं, चैत ९ - अस्वाभाविक वित्तीय कारोबार र लेनदेनमा संलग्न भन्दै राष्ट्रबैंकले विभिन्न राजनीतिक दलका नेताका सम्पत्ति छानबिन थालेको छ। सम्पत्ति छानबिनमा अघिल्ला सरकारका मन्त्री र शीर्ष नेतासमेत छन्।
राष्ट्रबैंकअन्तर्गत वित्तीय जानकारी इकाइले सम्पत्ति शुद्धीकरण विभागको समेत सहयोगमा छानबिन अघि बढाएको हो। इकाइ स्रोतअनुसार सम्पत्ति छानबिनमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेताहरू अग्नि सापकोटा, हिसिला यमी, हृदयेश त्रिपाठी, सुजाता कोइराला, पूर्वसञ्चारमन्त्री राजकिशोर यादव, पूर्व उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारलगायत नेताहरुको सम्पत्ति र वित्तीय कारोबारबारे अनुसन्धान थालेको हो।
इकाइले नेता र तिनका परिवारका सदस्यको बैंक खाता तथा अन्य सम्पत्तिको जानकारी संकलन गरिरहेको छ। अघिल्ला सरकारमा सहभागी केही नेताको आर्थिक लेनदेन अस्वाभाविक बढेपछि इकाइले अरू नेतामाथि पनि अनुसन्धान गरिरहेको छ।
इकाइ स्रोतका अनुसार अहिले करिब तीन दर्जन नेता छानबिनमा परेका छन्। नेतासँग नजिक व्यवसायी, कार्यकर्ताको पनि सम्पत्ति अनुसन्धानमा तानिएको स्रोतले जनायो।
ँनेता र तिनका परिवारको अस्वाभाविक वित्तीय कारोबार फेला पारेका छौं,’ इकाइस्रोतले भन्यो, ँराजनीतिबाहिरकाको मात्र अनुसन्धानमा सीमित नभई नेताहरुको पनि सम्पत्ति छानबिन गर्न थालेका हौं।’
छोटो अवधिमै अस्वाभाविक रुपमा सम्पत्ति कमाएका ४ सय ५० गैरराजनीतिक व्यक्तिमाथि अनुसन्धान गरिसकेको इकाइले आफ्नो भूमिका बढाउँदै राजनीतिक तहमा प्रवेश गरेको हो।
इकाइस्रोतका अनुसार अनुसन्धान घेरामा बढीजसो माओवादी र मधेसकेन्द्रित दलका नेता छन्। कांग्रेस र एमालेका केही नेताको पनि सम्पत्ति र वित्तीय कारोबार अनुसन्धानमा तानिएको छ। यसबाहेक भ्रातृ संस्थामा रहेका नेता तथा कार्यकर्ताको पनि सम्पत्ति र वित्तीय कारोबारको अनुसन्धान सुरु गरिएको नागरिक दैनिकको समाचारमा उल्लेख छ ।
ँअनुसन्धान हुँदैमा नेताहरुले अस्वाभाविक रुपमा वित्तीय कारोबार गरे भन्ने हुँदैन,’ इकाइका एक अधिकृतले भने, ँअनुसन्धान गर्ने निकाय भएकाले नेताहरुमाथि पनि हात हालेका हौं ।’
बैंक तथा वित्तीय संस्थामा शंकास्पद रुपमा करोडौं रुपैयाँ राख्दैरनिकाल्दै स्रोत नखुल्ने गरी लगानी गरेको फेला पारेपछि इकाइले अनुसन्धानमा ल्याएको स्रोतको भनाइ छ। राजनीतिक दलका नेतासँग नजिक रहेको भनेर चिनिएका व्यक्तिमार्फत यस्ता कारोबार बढी हुने गरेको स्रोतले जानकारी दियो।
बैंक तथा वित्तीय संस्थाबाट संकलन भएको सूचनाका आधारमा सम्पत्ति शुद्धीकरण क्षेत्रमा काम गर्ने इकाइले गरेको अनुसन्धानमा आर्थिक पृष्ठभूमि केही नभएकाहरुले पनि करोडौंको कारोबार गर्दै आएको फेला पारेको बुझिएको छ।
इकाइले अनुसन्धानका क्रममा शंकास्पद व्यक्तिले पारिवारिक सदस्य, नातेदार र कामदारको नामबाट सम्पत्ति खरिदबिक्री गरेको फेला पारेको छ। राजनीतिक नेतासँग नजिक रहेका कार्यकर्ता, आयात-निर्यातमा संलग्न व्यवसायी, घरजग्गा तथा सेयरका कारोबारी र केही माथिल्ला तहका सरकारी कर्मचारीले अस्वाभाविक रुपमा आर्थिक क्रियाकलाप गरेको पाइएको छ। यसबाहेक उनीहरुले आफ्ना नातेदार र कामदाररुको नामबाट समेत कारोबार गरिरहेको इकाइस्रोतको दाबी छ।
स्रोतका अनुसार पछिल्लो समय स्रोत नखुलाई सुनमा लगानी गर्नेहरु पनि बढेका छन्। इकाइले कर्मचारी अभाव र बलियो सूचना संयन्त्र अभावमा यस क्षेत्रमा अनुसन्धान भने गर्न सकेको छैन।
सम्पत्ति शुद्धीकरणमा काम गर्दै आएको अन्तर्राष्ट्रिय वित्तीय कार्यदलको सदस्यता नेपालले लिएसँगै स्रोत नखुलाई आर्थिक कारोबार गर्नेमाथि निगरानी थालिएको हो। सम्पति शुद्धीकरण निवारण ऐन कार्यान्वयनमा आएपछि यस्ता सम्पत्तिमाथि सरकारी निगरानी र अनुसन्धानमा तीव्रता ल्याइएको हो।
साभार ग्रेटवे अनलाईन्

No comments:

Post a Comment