Sunday, May 18, 2014

केजरीवाल र नेपालको ‘नयाँ शक्ति’

  • कुसुम भट्टराई 
दिल्लीमा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालको उदय भएपछि केही नेपाली पत्रकार, नेता र विश्लेषकले लेखे, ‘अब नेपालमा पनि केजरीवालजस्तै नेता चाहियो ।’ अझ कसै–कसैले त संविधानसभा निर्वाचनमा राप्रपा नेपालका अध्यक्ष कमल थापा नै केजरीवालको रुपमा उदाउने विश्लेषण पनि ठोक्न
भ्याइहाले । काँग्रेस, एमाले, एमाओवादी र नयाँ उदाएको मधेशवादी शक्तिप्रति जन विश्वास घटीरहेको भन्दै ‘मौकामा चौका हान्न’ नागरिक समाजका तर्फबाट केही सेलीबे्रटी पनि नयाँ शक्तिका नाममा केजरीवाल बन्न हौसीएका थिए । दिल्लीमा भ्रष्टाचारविरोधी अन्ना हजारेको अनसन अभियान र त्यसको प्रभाव स्वरुप उदाएको आम आदमी पार्टीले एक वर्षभित्रै दिल्लीको शासन सत्तामा कब्जा जमाएको देखेका केही नेपाली बुद्धिजीवीले नेपालमा पनि कुनै त्यस्तै लोकप्रिय एजेन्डा उठाउने, त्यसलाई एनजीओ मार्का प्रचारले उछाल्ने र त्यही बहानामा नयाँ शक्ति खडा गर्ने सपना पनि नदेखेका हैनन् । मेघा बैंकका अनिल शाह गित गाउने रहरसँगै नयाँ पार्टी खोल्ने अर्को रहर पाल्न थाले । हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ पनि यसमा हौसिएको सनियो । राजेश हमाल विवाह गर्न छाडेर नयाँ राजनीतिक पार्टीको चक्करमा लागे भन्ने पनि सुनियो । परोपकारी पत्रकारिताको ‘धन्दा’ मौलाएकै बेला रविन्द्र मिश्रलाई पनि राजनीतिक दल खोल्ने नयाँ धन्दाको आइडिया फुरेछ । घनश्याम भुषालदखि प्रदीप गिरीसम्म यसखाले बहसको लहर पुग्यो । दिल्लीमा केजरीवालले करामत गर्छन् भने नेपालमा हामीले किन नसक्ने ? भन्ने लाग्यो होला । खासगरी सामाजिक मुद्दा उठाएर जनताको मन जित्दै राजनीतिमा हावी हुने केजरीवालको मौसमी हावाले छोयो, यहाँका कतिपय डलरजिवीलाई । त्यस्तैमा,यो नयाँ शक्तिको बहसको आगोमा मट्टीतेल छर्किए, एमाओवादी नेता डा. बाबुराम भट्टराईले पनि । हो न हो साँच्चै नयाँ शक्ति बनीहाल्छ की जस्तो पनि भयो केही दिन त । यद्यपी यो बौद्धिक विलासमा रमाउनेहरुका लागि मसला बन्ने भन्दा बाहेक ठोस रुपमा माथि उठ्न सकेन । लोकसभा निर्वाचनमा अन्ततः केजरीवालको बेलुन फुट्यो । काँग्रेस र विजेपीलाई बढार्न भनेर उठाइएको झाडु आम आदमी पार्टीतिरै फर्कियो । आप त दिल्लीमै बढारियो । कुल ५ सय ४३ सीटमा यसले ४ सीटमै चित्त बुझाउनुप¥यो । १५ स्थानमा बाहेक अन्य उम्मेदवारको जमानत तफत भयो । बाराणसीमा केजरीवाल आफै हारे । भारतमा आम आदमी पार्टीको हारको खबर आइरहेकै बेला यता नेपालमा हिजो ‘केजरीवाल चाहिन्छ’ भन्नेहरु रातारात बोली फेरेर ‘मोदीजस्तै नेता चाहिन्छ’ भन्न थालेका छन् । नेपाली राजनीतिक बुद्धीजिविहरुको यो अर्को दास मानसिकता हो । डा. भट्टराईले एमाओवादीमा रहेरै नयाँ शक्तिको बहस छेड्नुमा पार्टीको आन्तरिक कलहको उपज पनि थियो । एमाओवादी अध्यक्ष प्रचण्ड बैद्यतर्फ निकट भएको देखेपछि उनले नयाँ शक्तिको कार्ड फालेका हुन । हैन भने एमाओवादी सग्लो पार्टी छदैछ । यही पार्टीभित्र थुप्रै समस्या छन् । यही पार्टीलाई व्यवस्थीत र सुदुढ पार्र्दै जुझारु ढंगले अगाडी बढाउनु पर्ने खाँचो टडकारो हुँदा–हुँदै डा. साबले नयाँ शक्तिको पासा फालेपछि पार्टीभित्र र बाहीर तरंग उत्पन्न हुने नै भयो । कसै कसैले भने, अब एमाओवादी फुटने भयो । कसै कसैले अब प्रचण्ड र बैद्य मिल्छन्, बाबुरामले एउटा सोसल डेमोक्रयाटीक शैलीको पार्टी खोल्छन् पनि भने । आखिर यी सब बहसलाई स्वयं डा. साबले स्पष्ट पार्दै भने, ‘मैले एमाओवादीभित्र बहसको लागि नयाँ शक्तिको अवधारणा ल्याएको हुँ । एमाओवादीबाहेक अर्को शक्तिको कुरा गरेको हैन ।’
हो, एमाओवादी र नेकपा–माओवादीबीच एकता हुने, यसमा अन्य क्रान्तिकारी समूह पनि मिसिने हो भने एमाओवादी नै नयाँ शक्तिमा परिणत हुनसक्छ । जस्तै, संघर्ष, अन्र्तविरोध र एकताको प्रकृयाबाट नयाँ चिज बन्नु त विज्ञानसम्मत कुरै हो । यदि यसो हो भने नयाँ शक्ति बनाउने अवधारणा स्वाभाविक हो । तर, एमाओवादी हुँदा–हुँदै विभिन्न दलका नेता–कार्यकर्ता चोरेर कुनै ठोस विचार,दर्शन र कार्यदिशाबिना ‘जोगी तरकारी’ झैं कुनै जेब्रा टाइपको शक्ति बनाउने कसैको सोच हो भने त्यो अहिलेलाई पुरा हुने सम्भावना छैन ।
हुन त अहिले नेपालमा प्रमुख चार–पाँच दलबाहेक पनि दर्जनौ दल छन् । ति हरेक दलले प्रमुख दलको विकल्पमा नयाँ शक्ति बन्ने सपना पालेर नै दल खोलेका हुन । तर, नयाँ शक्तिको पछिल्लो बहस चलाउने र नयाँ शक्ति बन्न चाहनेहरुले नबुझेको के हो भने कुनै पनि राजनीतिक शक्ति रातारात बन्दैन । एमालेसँग झापा विद्रोहदेखीको इतिहास छ । यसमा त्यसबेलादेखीका नेता कार्यकर्ताको अथक योगदान छ । काँग्रेस भनेको सात सालदेखीको लिगेसी बोकेको दल हो । अहिलेको एमाओवादी पनि पुष्पलाल, मोहनविक्रम सिंह, निर्मल लामा हुँदै विगत दश वर्ष लामो जनयुध्दमा प्रचण्ड, मोहन बैद्य र डा. बाबुराम भट्टराईलगायतका नेताको कुशल नेतृत्व र संघर्षमय पृष्ठभूमि र सिलसिलाबाट बनेको हो । मुलुकका यी प्रमुख तिन दलका अतिरिक्त मधेश विद्रोहबाट उदाएका मधेशवादी शक्तिको पनि आफ्नै संघर्षको पृष्ठभूमि छ ।
यी प्रमुख शक्तिलाई चुनौती दिने नयाँ शक्ति जन्मन सक्छ । तर, त्यो शक्ति रविन्द्र मिश्रको परोपकार पत्रकारीताबाट भने जन्मिन सक्दैन । डा. साबले बेलाबखतका कुरामा आर्टीकल लेखेर पनि जन्मिन सक्दैन । अनी केजरीवालले जस्तो सेतो गान्धी टोपी र झाडु लिएर केही दिन होहल्ला गर्दैमा पनि बन्न सक्दोरहेनछ भन्ने उदाहरण भर्खरैको लोकसभा निर्वाचनले देखाइसक्यो । नयाँ शक्ति जन्मने भनेको संघर्षको मैदानबाट हो । ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै जनताको चाहनालाई भित्रैदेखी बुझेर कुनै नेताले ठिक अवसरमा ठिक निर्णय ग¥यो भने आन्दोलनको उभार आउनसक्छ र त्यसबाटै नयाँ शक्ति जन्मीन सक्छ । नेपालको परिवर्तनको युगान्तकारी अवसरले जन्माउने कुरा हो यो । अहिले कसैले म विपी कोइराला बन्छु भनेर चाहेर हुँदैन । त्यसको लागि सात सालको जस्तो परिस्थिति चाहिन्छ । कसैले ‘म फेरी जनयुद्ध गर्छु र प्रचण्ड बन्छु’ भनेर पनि हुँदैन रहेछ भन्ने त बैद्य बाहरुको विभाजनपछिको अवस्थाले पनि देखायो ।
राजनीतिक शक्ति र नेतृत्वको निर्माणका लागि स्थितिको परिपक्वता, नेतामा दुरदर्शीता र त्यसमा जनताको आँधीबेहरीपुर्ण साथ र समर्थन चाहिन्छ । प्रचण्डसँग रिस उठ्यो भन्दैमा कसैलाई अर्को शक्ति बनाउन मन लाग्ला वा शुसील कोइरालाले कार्यवाहक सभापति दिएनन भनेर कसैलाई तेश्रो धार बनाउन मन लाग्ला । यस्ता निजी आग्रह र महत्वाकाँक्षाले नयाँ शक्ति निश्चय नै बन्दैन । नयाँ शक्तिको माग समय, सन्दर्भ र संघर्षले गर्ने हो, कुनै व्यक्तिले हैन ।
यतिबेला जनता संघर्षबाट थाकेको अवस्था छ । अथवा भनौं, जनता राजनीतिक परिवर्तनका लागि क्रान्तिको सागरमा पौडिदा–पौडिदा थाकेर यो गणतन्त्रको किनारामा सुस्ताएको अवस्था छ । भारतमा झैं नेपाली जनता पनि यतिबेला राजनीतिक एजेन्डाबाट वाक्क दिक्क भइसकेका छन् । सिद्धान्तका रटानबाट आजित भइसकेका छन् । माक्र्सवादको नयाँ विकासको लफ्फाजीबाट पनि दिक्क भएका छन् । खासमा भन्ने हो भने ‘माक्र्सबादको हैन, अब नेपालको विकास गर्नुपर्छ’ भन्ने नेपाली जनताको चाहना छ । जनता अहिले कुनै पनि नेताबाट ‘प्रभावकारी पर्फमेन्स’को अपेक्षा गरिरहेका छन् ।
नेपालको भौगोलिक परिवेश र यथार्थ अनुसार प्रमुख दलका सिद्धान्तमा खासै कमजोरी छैन । समस्या नीति हैन, नियतको हो । सवैका घोषणापत्रमा आकर्षक नारा छन् । जनताको अहिलेको चाहना यति मात्र हो, नयाँ संविधान बनोस्, एउटा सामाजिक न्यायमुलक लोककल्याणकारी शासन व्यवस्था संस्थागत होस् र मुलुक समृद्धितर्फ लम्कोस् । यसका लागि नयाँ शक्तिको कुनै खाँचो छैन । बरु, भएकै शक्तिको आचारण, शैली र नियतमा सुधारको खाँचो छ । काँग्रेस, एमाले, एमाओवादी र मधेशवादी दलहरु आपसी खिचातानी, कलह अनी पद र सत्ताको लिप्सामा नलागून र जनताले खोजको सुशसासन दिउन् । जसरी यी शक्तिले मिलेर परिवर्तन गरे, त्यसलाई संस्थागत पनि मिलेरै गरुन् ।
भारतीय जनताले त्यहाँ नयाँ शक्ति आम आदमी पार्टीलाई मन पराएनन् । दिल्ली विधानसभामा चामत्कारिक विजय हासिल गरेको अरविन्द केजरीवालको पार्टी पानीको फोका सरह भयो । लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीको सुनामीले काँग्रेस र आम आदमी पार्टी दुबैलाई राजनीतिको सुदुर किनारामा धकेलिदियो । यसको सन्देश के हो भने भारतीय जनता आफ्नो दैनिक जिवनमा द्रूत गतिमा विकासको प्रतिफल चाहन्छन् । आफना छोरा वा नातीका पालामा हैन, आफ्नै पालामा सुखद जिवन जिउन चाहन्छन् । त्यसका लागि शिक्षा, स्वास्थ्य, रोजगार, पानी, विजुली, खाद्यान्न, सडक, यातायात र मानवीय सुविधाका हरेक आयाममा आफ्नो पहुँच बढाउन चाहन्छन् । न त ‘बन्दे मातरम’को नाराले भोको पेट भरीन सक्छ, न त ‘भारत माताकी जय’को भावुकतामै भारतीय जनता बहकीनेवाला छन् । पुरानो नेहरुकालीन कोरा राष्ट्रवाद र भावुकताको साटो नरेन्द्र मोदीले जनताले बुझ्ने भाषामा भने, ‘अच्छे दिन आने वाले है ।’ भारतीय जनता सुखद दिनको प्रतिक्षामा थिए, त्यसैले मोदीलाई जिताए । यसपाली भारतीय जनताले भाजपालाई पनि हैन, खासमा मोदीलाई नै भोट दिएका हुन । भारतलाई नेतृत्व गर्ने र विकासको नारा सार्थक पार्ने एउटा नेता खोजीरहेका भारतीय जनताले मोदीमा त्यो गुण भेटे । बस भएको यही हो ।
नेपाली जनता र भारतीय जनताको चाहना खासै भिन्न छैन । नेपाली जनता पनि आफनै पालामा विकास भएको हेर्न चाहन्न् । जसरी हामीले आफ्नै पालमा गणतन्त्र स्थापना भएको देख्यौं, अब आफ्नै पालामा नेपालका पहाडहरुमा रेल गुडेको देख्न चाहन्छौं । त्यो सपना पुरा गर्न नेपाली राजनीतिमा यदि मोदीजस्तै नेता कोही छ भनेर खोज्ने हो भने हाम्रो सामु एमाओवादी अध्यक्ष प्रचण्डबाहेक अर्को अनुहार देखीदैन, फेरी पनि । शुसील कोइरालाको अनुहार हामीले हेरीहाल्यौं । मेची महाकाली प्रशिक्षणका क्रमका काँग्रेसकै नेता र कार्यकर्ता ‘हाम्रा प्रधानमन्त्री सुस्त भए’ भनीरहेका छन् । जाबो एउटा २६ जना सभासद मानोनीत गर्न नसक्ने र सर्वोच्चको फैसलाका कारण आफ्नै नजिकका नेताहरुलाई सभासद बनाउन असमर्थ प्रधानमन्त्रीले पेट्रोल, दुध, पानी र बिजुलीको भाउ बढाएर जनताको ढाड सेकीरहेका छन् । अनी ‘टनकपुर भारतको हो’ भनेर राष्ट्रियतामा पनि आँच पु¥याएका छन् । एमाले नेता केपी ओली विरामीका कारण रुग्ण भइसकेका छन् । अर्का एमाले नेता माधव कुमार नेपाल बिगत डेढ दशकमा पार्टी र सरकारको शिर्षमा रहेकै हुन । उनले पहिला के नै गरे र अब गर्लान भन्ने आशा ? एमाले अध्यक्ष झलनाथ खनाल आफै संसदीय दलमा हारेका छन् ।
यसरी हेर्दा नेपाली राजनीतिलाई जतिसक्दो चाँडो संक्रमणबाट पार गराउन प्रचण्डको भूमिकाले नै निर्णायक पहलकदमी चाल्नसक्ने देखिन्छ । केही दिनयता प्रचण्डकै पहलका कारण नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य किरणसँग सहकार्यको बहस सुरु भएको छ । नेपालको शान्ति प्रकृयालाई सार्थक विन्दुमा पु¥याउन जनयुद्ध लडेर आएको एउटा शक्ति नेकपा–माओवादीलाई पनि यो प्रकृयामा समेटनुपर्छ । त्यो समेटने प्रकृया अरु कसैबाट हैन, प्रचण्डबाटै पुरा हुने अवस्था बन्दैछ । यो सकारात्मक हो । त्यसका लागि ‘पद पनि छाडछु’ भनेर प्रचण्डले भन्नु उनको महानता मान्नुपर्छ र शान्तिप्रिय सबै नेपाली जनताले त्यसको प्रशंसा गर्नुपर्छ ।
भारतमा नरेन्द्र मोदीको उदयले अब भारत र चीनको सम्बन्ध अझ सुमधुर हुनेछ । यसले यस क्षेत्रमा शान्ति र स्थीरता ल्याउनेछ । पश्चिमा प्रभावबाट यो क्षेत्र मुक्त हुनेछ । कसै कसैले मोदीलाई ‘दक्षीणपन्थी’ भन्दै नेपालको लोकतान्त्रिक भविश्यमाथि चिन्ता व्यक्त गरेका होलान । तर, भारतको महान लोकतान्त्रिक अभ्यासबाटै शासनको शिर्षमा पुगेका मोदीले नेपालको लोकतान्त्रिकरणमा बाधा हाल्लान र पुरानै राजतन्त्र फर्काउन दबाब देलान भनेर विश्लेषण गर्नु अर्को भ्रम हो । मोदी सत्तामा आएपछि नेपालको शान्ति र संविधान प्रकृयाले झन द्रूत गति लिनेछ । राजनाथ सिंहहरुले ‘नेपाल हिन्दु राष्ट्र हुनुपथ्र्यो’ भनेर भन्दै गर्लान, तर मोदी ति झिना मसीना विषयमा अलमलीने छैनन् ।
बरु, चीनसँग सहकार्य गर्दै भारतीय राजनीतिमा लामो रेसको घोडा बन्न उनले भारतको आर्थिक विकासको नयाँ अध्याय सुरु गर्नेछन् । त्यसका लागि नेपालको शान्ति, स्थीरता र विकास भारतको लागि झन बढी अपरिहार्य हुनेछ । नेपालको स्थीरताका लागि ढिलो चाँडो अहिले भएकै तिन दल काँग्रेस, एमाले र एमाओवादीकै भूमिका महत्वपूर्ण हुनेछ । यसमा पनि एमाओवादीले भारत र चीनवीच सन्तुलन र समन्वयकारी भूमिका निर्वाह गर्नसक्ने भएकाले एमाओवादीकै भूमिका अबको राष्ट्रिय राजनीतिमा प्रभावकारी हुने देखिन्छ । यस हिसाबले पनि यो नयाँ शक्ति स्थापनाको बहस फगत बौद्धीक बहस र बेला बखतका कुरामा सिमित हुनेछ ।
- See more at: http://www.ratopati.com/2014/05/18/130278.html#sthash.ilMC8hTh.dpuf

No comments:

Post a Comment