चुनाव हुँदैन भन्नोस् ! यो पक्का हो
मोहन वैद्य किरण, नेकपा-माओवादी अध्यक्ष
नेपालका नेताहरुको एउटा न एउटा
थेगो पाइने गरेको छ । सुशील कोइरालाको ‘उ गर्ने’ शेरबहादुरको ‘भन्देखिनलाई’
रामचन्द्र पौडेलको ‘चैने’ र प्रचण्डको ‘मने’ जस्तै माओवादी अध्यक्ष मोहन
वैद्यको थेगो ‘भन्नोस्’ रहेको छ । समसामयिक राजनीतिक परिस्थिति र चुनावबारे
उहाँको पार्टीको मनोविज्ञान बुझ्न उहाँकै निवासमा पुगेको अनलाइनखबरको
टोलीसँग अध्यक्ष वैद्यले प्रष्टसँग भन्नुभयो- ‘चुनाब हुँदैन भन्नोस् ! यो
पक्का कुरा हो ।’
० सरकारले र चार दलले
वार्तामा बोलाइरहेका छन् । वार्तामा बसेर ‘चैत १ गतेको कदम’ सच्याउने कि
पहिल्यै खारेज गरेपछिमात्रै वार्तामा बस्ने ?
अब चार दल र सरकारबाट पनि वार्ताका कुरा
आए भन्नोस् । कुरा के हो भने वार्ता नै नगर्ने, वार्तामा नै नबस्ने भन्ने
होइन । तर, वार्ताका लागि सरकार र चारदलको संयन्त्रवाट हामीलाई लिखितरुपमा
केही आएकै छैन । पार्टीका नेताहरुसंग फोनमा कुराकानी भएको छ । एमाले
अध्यक्ष झलनाथ खनालले फोन गर्नुभएको थियो । कमसेकम हाम्रो मागप्रति
उहाँहरुको संकेत के हो ? उहाँहरु यसप्रति सकारात्मक हुनुहुन्छ कि हुनहुन्न ?
यदि सकारात्मक हुनुहुन्छ भने वार्ता सार्थक हुन्छ । हामी वार्तामा नबस्ने
कुरा आउँदैन । यदि उहाँहरु त्यो गर्नु हुन्न र उहाँहरुले जे-जे गर्नुभएको
छ, त्यसमा लाहाछाप लगाउन जाने हो भने वार्ताको के औचित्य भयो र ? त्यो
शर्तमा हामी वार्तामा जादैनौँ ।
० झलनाथजीले फोनमा के भन्नुभयो ?
झलनाथ जीले त यस्तो निर्णय भएको छ, बसौँ
भन्नुभएको छ । अर्कोकुरा के हो भने उहाँहरुले निर्णय फेरि संयन्त्रमा
गर्नुभएको छ । संयन्त्रको हैसियत के छ ? पार्टीहरुले बोलाए त जान्छौँ नि ।
पार्टीको हैसियत त छ नि । काँग्रेस, एमाले, एमाओवादी सवै पार्टीको हैसियत छ
। उनीहरुले बोलाउँदा हामी वार्ता गर्न तयार छौँ । संवाद रोक्ने कुरा भएन ।
तर, उहाँहरुको त्यो संयन्त्रको हैसियत के हो ? हाम्रो प्रश्न के हो भने
संयन्त्रको हैसियत के हो ? संवैधानिक हैसियत त छैनन नि संयन्त्रको ।
संविधानमा त्यसको केही व्यवस्था छैन । उहाँहरुले बडा ठान्नु भएको छ, हाम्रो
संयन्त्र बनाएर हामी सरकारलाई नियन्त्रण गछौर्ं । त्यो बेकारको कुरा हो ।
अधिकार नै नभएका उहाँहरुलाई कहाँ अधिकार छ सरकारलाई नियन्त्रण गर्ने ? त्यस
अर्थमा हामीले भनेको के हो भने संयन्त्रसंग हामी बार्तामा बस्दैनौं ।
० संयन्त्रले बोलाएको वार्तामा नजाने नै हो त तपाईहरु ?
झलनाथजीसंग टेलिफोनमा कुरा भएको छ
यसबारेमा । अहिले हामी आउँदैनौ । पार्टीसँग बेग्लाबेग्लै सम्वाद गर्ने हो
भने त हामी तयार छौँ । तर, यो जुन उहाँहरुले चैत १ मा निर्णय गर्नु भा’छ
यसबारे अहिले वार्तामा बस्ने कुरा छैन भन्ने हो ।
० सरकारले वार्ता गर्न तीन सदस्यीय टोली गठन गरेको छ नि ?
त्यो त बाहिर आएको छैन । पार्टीहरुले त
बरु फोनमा कुराकानी गरिरहेका छन् । सरकारवाट त्यो पनि भा’को छैन । सरकारले
निर्णय गरे त पत्र आउनुपर्ने हो नि । अर्को कुरा के हो भने अहिले चैत १
लगायतका निर्णयहरु खारेज हुनुपर्छ । खारेज नभएपनि सकारात्मक रुपमा सोच्छौं
भन्ने कुरा त हुनु पर्यो नि । फेरि हामी एक्लै पार्टी मात्रै नभएकाले
आन्दोलनमा रहेका अरु पार्टीहरु पनि छन् । हामीले अहिले वार्तामा नजाने
भन्ने निर्णय गरेका छौं ।
० सहमति भएर यही सरकारको मातहतमा निर्वाचनमा जाने सम्भावना छ कि छैन ?
अहिले छैन भन्नोस् । पहिले असारमा गर्ने
भनेर ठूलो होहल्ला गरे । अब त्यो त सिद्धिइहाल्यो । ध्वस्त भइहाल्यो । त्यो
त उनीहरुको वास्तविक योजना नै थिएन । अब मंसिरमा भनेका छन् तर मंसिरमा पनि
हुने सम्भावना छैन । एक त यिनै पार्टीभित्रै झगडा पर्छ । केही पार्टीभित्र
अहिले पनि झगडा भइरहेको छ । अर्को कुरा, पार्टीहरुको अन्तरहित उद्देश्य के
छ भने मंसिरसम्म खिलराजलाई नै असफल पार्ने, त्यसपछि फेरि आाफू पनि आउने ।
अहिले यो षडन्त्र भइरहेको छ । थुप्रै खेलहरु छन् भित्रैबाट । त्यसैले यो
सरकारले चुनाव गराउला भनेर परिकल्पना नै गर्न सकिन्न । किन भन्नुहुन्छ भने
दलीय व्यवस्थामा दलहरु असफल हुने, निर्दलीय व्यवस्थामा जाने ? एउटा
स्वतन्त्र ब्यक्तिले निर्वाचन गराएर फेरि यी दलहरुलाई सत्तामा पठाउने ?
त्यो पनि हुन्छ कहीँ ?
० तपाईहरुले चैत १ को कदम
सच्याउनुपर्छ भन्नुभएको छ । यसको अर्थ के हो ? रेग्मी सरकार हटाएर दलहरुकै
नेतृत्वमा सरकार गठन गरी चुनावमा जानुपर्छ भन्न खोज्नुभएको हो ?
हो त । नसच्याई त हामी जादैनौं । जादैनौँ
मात्रै होइन, चुनाव नै हुँदैन । हामी चुनावमा जान्छौ कि जादैनौँ भन्ने ठूलो
कुरा भयो । चुनाबै हुँदैन भन्नोस् ! यो पक्का कुरा हो । चुनाव सम्भव छैन ।
० चुनाव त तपाईहरुले नै
रोकिरहनुभएको छ नि । मतदाता नामावलीको काममा अवरोध गरेपछि निर्वाचन आयोगले
कामै रोक्यो । तपाईहरुले भाग नलिए चुनाव हुँदैन भन्दै फकाउन खोज्दैछन् त
सबैले ?
त्यो त उनीहरुले पनि भन्छन्, तपाईहरु
चुनावमा भाग नलिए चुनाव हुँदैन । हामीले खाली एउटा चनाव असफल पार्ने
भन्नेमात्रै कुरा होइन । हाम्रो त राजनीतिक छ के । यसमा राजनीति छ । यो
तरिकाले चुनाव हुँदैन । हाम्रो कुरा यो हो । हामीले चुनाव असफल बनाउने
भन्ने एउटा पाटो हो । अर्को कुरा के हो भने चुनाव गराएर संविधानसभा मार्फत
जनताको संविधान निर्माण गर्ने भन्दा पनि यो कतिपय वैदेशिक शक्तिकेन्द्रको
गुरुयोजना अन्तर्रगत भएको हो । यो देश टुक्राउने योजनामा आधारित छ ।
पार्टीको हातमा अब केही चिज छैन । बहुदलीय प्रतिस्पर्धा भन्ने दलहरुले नै
दललाई समाप्त पारेका छन् । यो एक प्रकारको ‘कु’ हो । एक प्रकारको प्रतिगमन
हो । नेपाली जनताले नै नेपालको भाग्य र भविश्यको फैसला गर्नुपर्छ भन्दै
आइराख्या थियो । अब त्यो मान्यतामाथि एउटा गम्भीर आघात भयो ।
० प्रचण्डजीले नै ल्याएको प्रस्तावअनुसार देश अगाडि बढेको छ, कसरी वैदेशिक शक्ति केन्द्रलाई दोष दिन मिल्छ ?
बाहिरवाट प्रचण्डजीले फर्मूला छ भन्नुभयो ।
बाबुरामजीले त नथ्थी नै लगाएर आउँछन् भन्नुभएको थियो । भयो त । पहिले
काँग्रेस र एमालेले विरोध गरे । अझ एमालेका अध्यक्ष झलनाथले त भन्नुभएको
थियो हामीले नै नथ्थी लगाएर ल्याउँछौं । सबै देखियो नि त ।
अर्को कुरा विरोधीहरु हामी मात्रै होइनौं
है । विरोधी त्यही काँग्रेस र एमालेभित्रै छन् । उहाँहरुले लेखेरै दिनुभएको
छ । एमालेका नेता माधवजी नै पहिले चर्को विरोध गरिरहनुभएको थियो । पछि किन
हो, उहाँले विरोध गर्दा अलिकति समस्या पर्छ कि भनेर हो कि आजभोलि चुनावको
विकल्प छैन भन्न थाल्नुभयो । उहाँले पहिले खिलराजजीले प्रधानन्यायाधीवाट
राजीनामा नदिई हुँदैन भन्नुभएको थियो तर अहिले त्यो पनि छैन ।
० खिलराजले प्रधानन्यायाधीशवाट राजीनामा दिँदा चुनाव हुने सम्भावना कत्तिको छ ?
अब त्यो त उहाँको कुरा भयो । राजीनामा के
गर्ने हुन् त्यो खिलराज जीको कुरा भयो । तर, राजीनमा दिएको अवस्थामा पनि
दलीय व्यवस्थामा दलभित्रैबाट प्रधानमन्त्री हुनुपर्यो नि । चुनाव गराउन
नसक्ने अनि सरकारमा जान सक्ने नैतिक अधिकार कहाँबाट हुन्छ ? चुनाव हामी
गराउन नसक्ने भयौं, तिमीहरुले गराइदेउ अनि हामी फेरि चुनाववाट सत्तामा
आउँछौ भन्ने नैतिक अधिकार हुन्छ ? चुनाव गराउन नसक्नेले राज्य चलाउन सक्छन्
? नैतिक हैसियत नै हुँदैन । उहाँहरुले जतिसुकै कुरा गरेपनि त्यो तर्कसंगत
हुँदैन ।
० सामाजिक सञ्जालमा केही
मानिसहरु भन्छन्- यी वैद्य बाजेले फेरि मुलुकमा चुनाव होला, संविधान आउँला र
शान्ति कायम होला भन्नेबेलामा फेरि गडबडी मच्याए, यिनलाई त देशै निकाला
गर्नुपर्छ सम्म भन्छन् नि ?
मान्छेलाई शान्ति हुनुपर्यो भन्ने छ । १०
वर्ष जनयुद्ध भयो, अब शान्ति आए हुन्यो भन्ने मानसिकता छ । त्यो हाम्रो
पनि छ । कसलाई हुँदैन भन्नुस त ? यसलाई म नकारात्मक अर्थमा म लिँदैन । सीधा
अर्थमा उहाँहरुको आलोचना वा विरोधलाई अन्यथा लिने कुरा भएन । तर, अब १०
वर्षसम्म जनताले बगाएको रगत संविधानसभामार्फत नयाँ संविधान जारी हुनुपर्छ
भन्ने कुरा त २००७ सालबाटै उठ्दै आएको कुरा हो नि । यी चार दल त साँढे भए ।
त्यो संविधानसभा त्यहीबेला संविधानसभामा प्रस्ताव पठाइदिएको भए त
त्यहीँबाट टुंगो लाग्थ्यो नि । तीन दलहरु, शीर्ष नेताहरु बसेर विवाद समाधान
उपसमिति बनाएर, त्यहाँवाट बनाउने तिनीहरुलाई अधिकार कसले दियो ? विवाद
समाधान उपसमितिवाट किन कसरत गर्ने ? त्यही बेला संविधानसभामा पठाइदिएको भए
मान्नेले मान्थे, नमान्नेले मान्दैनथे । संविधानसभामा निर्वाचित ६ सय १ एक
जना सदस्य सबैलाई अवज्ञा गरेर खाली दुई तीनजना नेताहरुमात्रै बसेर किन कसरत
गर्ने त्यहाँ ? पहिले राजाको पालमा शाही सासन भन्थ्यौं । अहिले चारदलको
अधिनायकवाद लादेका छन् । चारदलको तानाशाही छ । चार दलले जे गरे पनि हुँदो
रैछ । अहिले संविधानको २५ वाट धारा बाधा अड्काउ फुकाएर गाइजात्रा के गरेको ?
जे गर्दा नि सही छ । राष्ट्रपतिजीलाई हामीले ठोकेरै भन्यौं । के हो यो
तरिका ? जे मन लाग्यो त्यो गर्न हुन्छ ? राष्ट्रपति जी पनि सन्तुष्ट
हुनुहुन्न । कुरा यसो हो । अब त्यस किसिमको कमेन्ट इत्यादिका पछाडि एक
किसिमको चिन्ता निश्चित रुपमा छ । तर, उहाँहरुले पनि विस्तारै कुरा बुझनु
हुन्छ ।
० आफूले नभएर चारदलले मुलुकलाई सही दिशामा लग्न दिएनन् भन्न खोज्नुभएको हो ?
निश्चित रुपमा हो । अब त चार दल पनि
किनारा लागे । अब मैले संयन्त्रको कुरा गरे नि । अब हामीले त्यहाँबाट
हाक्छौं भन्नुभा’को थियो । उहाँहरुले बैठक बसेर असारको पहिलो साता नै
निर्वाचन हुनुपर्छ भन्ने निर्देशन दिनुभएको थियो । तर खोई कार्यान्वयन भएको
? निर्वाचन आयोगले पनि अब असारमा हुँदैन भन्न थालिसक्यो । अब सत्ता त कि
राष्ट्रपति, कि अन्तरिम चुनावी सरकारको प्रमुखका हातमा छ । चार दल त अब
पेन्डुलम भइसके । प्रचण्ड जीले नै भनिसक्नु भयो नि, अब हामी जनआन्दोलनमा
जानुपर्छ भनेर । उहाँले नै भनिहाल्नु भयो ।
० तपाईहरुले राष्ट्रपतिसँग मात्रै वार्ता गछौँ भनेको कारण पनि अबको सत्ता चार दलसँग छैन भनेरै हो ?
हाम्रो एउटा मोर्चा बनेको छ, मोर्चामा
निर्णय भएको हो । कुरा केहो भने यो कदम राष्ट्रपतिवाटै भएकाले पनि
उहाँहरुवाटै सच्चिएला भनेर हो । आखिर राष्ट्रपतिले बाधा अड्काउ फुकाउने काम
त गर्नुभएको हो नि । उहाँले त्यो नगरेको भए त यस्तो हँुदैनथ्यो । त्यसैले
जसले गल्ती गरेको हो, उसैलाई भन्दा सच्याउन सकिएला भनेर हो ।
० चुनावमा हारिने भएर पो तपाईहरु डराउनु भएको हो कि ?
चुनावमा जाने नै भएपछि जितिएला पनि
हारिएला पनि त्यो एउटा कुरा हो । हामीसंग सानो भएको अनुभव छ । सबैले हेपेको
अनुभव पनि छ । सानोबाट ठूलो भएको अनुभव पनि छ । त्यसैले हामी चुनावमा जान
डराएको होइन, चुनाव दलकै नेतृत्वमा हुनुपर्यो भन्ने हो ।